गुरुदेवहरु, गुरुमाताहरूमा निवेदन !

 मार्च ८ २०२५ (फागुन २५ २०८१ साल)

हे नेपाल भूमिमा जन्मनुभई हाल विश्वभर फैलिएर रहनुभएका र हाल  यस संसारमा पार्थिव रूपमा नरहनुभएका सबैसबै नेपालीमूलका संस्कृत एवं नेपालीभाषी पूजनीय, श्रद्धेय, ऋषिगण, तपस्वीहरू, गुरुदेवहरु, गुरुमाताहरू, जननी देवीहरू, महात्माहरू, ध्यानी, ज्ञानी, योगीहरू, सम्पूर्ण ज्योतिष गुरुहरू, विद्वानहरू मानवता र मानव चेतनाका संरक्षकहरू, अभियन्ताहरू सबै धर्मका गुरुहरु, गुरुमाताहरू, साधु, सन्त, महन्त, सन्यासी, सम्पूर्ण आध्यात्मिक आत्माहरू सबैमा हृदयको प्रणाम, आत्मीय  ढोग !

म यहाँहरुकै एक शिष्य, जिज्ञासु मानव, सृजनाको विद्यार्थी,  योग-ध्यान-ज्ञानको अन्वेषक, प्रेमको पूजारी र उत्सुक अविरल यात्री हुँ। आफ्नै खोजी गर्ने क्रममा हजारौं वर्षअघि शुरु भएको यो सृष्टिचक्र-समयको गति र मानव कल्पवृक्षमा यो प्रकृति नियम भित्रको निरन्तर परिवर्तनको यात्रामा यहाँहरूले गरिरहनुभएको हर शुभ प्रयासहरूलाई बुझ्ने, बलदिने, सघाउने, सजाउने, सहज बनाउने र बदलिने कार्यमा प्रयत्नरत छु ।

यहाँहरू धेरैसँग म पनि  युग सचेतकको भूमिका निर्वाह  गरिरहेको अनुभूति हुन थालेको छ ।  हाल म मेरा दुई माताहरू ज्ञानमाता र शक्तिमाताको संरक्षण र लामो समयको ब्रह्माण्डको ध्यान पछाडि म ग्रहहरू र यहाँहरूको प्रभावमा र निर्देशनमा भएका तरङ्गहरूले संकेत दिइरहेका छन्। मेरो अल्पज्ञान के हो सोध्न जान्न उत्सुक छु । मेरा नयाँ  अनुभूतिहरू, अनुभवहरूका बारेमा यहाँहरुलाई म बताउँदै , जानकारी गराउँदै जानेछु ।

यस्तो प्रेम, दया, योग, ध्यान, ज्ञान, ऊर्जा, शक्तिशाली, सृजनशील, दिव्य, पवित्र, आनन्द एवं शान्तिको माटो नेपाल भूमिमा यस्तो भूस्वर्गमय  देव भूमिमा दूरदर्शी ज्ञानी, आध्यात्मिक  पुर्खाहरूबाट आशीर्वाद प्राप्त गरेर जन्मनुभएका पुण्य र पवित्र आत्माहरू यहाँहरू र यहाँका सन्ततिहरू वीर, प्रतापी, साहसी, अखण्डित, गौरवशाली, स्वाभिमानी,  मिलनसार एवं असल हुँदाहुँदै पनि थोरैदेखि बाहेक धेरै खुसी-सुखी र आनन्दित हुन सकेका छैनन् । सबैले समृद्धि र प्रगतिको प्रसाद  ग्रहण गर्न सकेका छैनन् ।  यहाँहरूकै ज्ञानबाट हामीलाई जानकार र अनुभूति  अवश्य छ कि हामी समयचक्रको अप्ठ्यारो कालखण्डमा भएको कारण हामी सबै यस्तो भूमिमा जन्मेर, रहेर पनि अप्ठ्यारो यात्रामा अगाडि गुज्रिरहेका छौं । र यो पनि जानकार र अनुभूति अवश्य छ कि परिवर्तन सृष्टि र संसारको नियम हो। परिवर्तन र समयले कसैलाई कुर्दैन, ऋतु परिवर्तन जस्तै आइरहने सुख-दुःख, हार-जित, लाभ-हानि, सफलता-असफलता, जनम-मृत्यु सृष्टिको नियम हो । यो बुझ्नु र धैर्यता र प्रतिक्षा गर्नसिक्नु हाम्रो ज्ञान हो।

हामी  महानवयुग आगमन एवम् परिवर्तनको मिरमिरे शुभबिहानीमा छौँ।

महानवयुगको आगमन अगाडि नै हामी सबैले वातावरणलाई प्रेममय बनाउनु पर्छ ।  यसको थालनी केही समय अगाडि बाटै शुभारम्भ भएको यहाँहरू जानकार नै हुनुहुन्छ । माताहरूको प्रेम र आज्ञा अनुसार म आफ्नो कर्मपथमा निरन्तर छु । आज यहाँहरूकै  शुभ आशीर्वादको लागि यो पत्रमार्फत् निवेदन चढाउँदैछु ।

अनुरोध र आह्वान;

सम्पूर्ण नेपाली जाति, नेपालीभाषी मिली, सृष्टिको नियम बुझी, सुखदुख बाँड्दै, पूर्ण सकारात्मक बनी एकबद्ध रूपमा यस महानवयुगलाई स्वागत गर्ने समय आएको छ ।मानव जातिलाई ज्ञान, योग र ध्यानलाई आधार बनाएर सेवा गर्ने  जिम्मेवारी आएको छ । सबैको तेस्रो आँखा खोल्ने मन्त्र सिकाइदिने मुहूर्त आएको छ।  आनन्दको अनुभूति बाँड्नेछौं, सुख, शान्ति, समृद्धि र प्रगतिको  यात्रामा सँगसँगै अगाडि बढ्नेछौं ।

हे सम्पूर्ण पूज्य गुरुदेव र गुरुमाताहरू !

समयको यस घडीमा सबैलाई निःसन्देह बनी आफ्नो सद्चिन्तन र सद्कर्ममा  लगनबद्ध भएर लगाउन  हजुरहरूको आशीर्वादसँगै मार्गदर्शन होस् भनी सबैलाई विनम्र अनुरोध र आह्वान गर्न अनुमति माग्दछु।

आफ्नो कर्मको आधारमा सबैको जय होस् !  कल्याण होस् ! तेस्रो  आँखाको उदय होस् !

यात्राका अनुभूति, शिक्षा, ज्ञान र सन्देश र कार्यहरू voiceofkabin.com  मा जानकारी गराउँदै  जानेछु,

सबैको निरन्तर आशीर्वाद, शुभकामना, सुझाव तथा सहभागिताको अपेक्षा गरेको छु ।

प्रार्थी,

कवीन्द्र राज सिटौला “जिज्ञासु”

पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कविन्द्र सिटौलाको विशेष पत्र

आदरणीय टीकाराम यात्रीज्यू,
नमस्कार !

हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईंको युट्यूव च्यानलबाट प्रस्तुत भएको ‘कुरा सुन्नु पाकाको’ को पाँचौं शृङ्खलामा लिइएको अन्तरवार्ता हेर्ने अवसर प्राप्त भयो। तपाईंले तयार गर्ने यो लोकप्रिय शृङ्खलामा मेरी मुमाको अन्तरवार्ता समावेश गर्नुभएकोमा यहाँलाई हार्दिक धन्यवाद दिन्छु।

पूज्य मुमाको स्मरण शक्ति यथावत् नरहेको अवस्थामा पनि यहाँले आफ्नो व्यस्त समय मिलाएर आठ दशकभन्दा अघिदेखिका उहाँका जीवनका कथा, व्यथा र उत्साहहरू सृजनात्मक, कलात्मक र मनोरञ्जनात्मक रूपमा बाहिर ल्याइदिनुभएकोमा हाम्रो समग्र परिवारका तर्फबाट समेत म पुनः हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मुमाले सक्दो कोसिस गरे पनि उहाँको कम हुँदै गएको स्मरणशक्तिका कारण तपाईंका केही प्रश्नका उत्तरहरू अपूरा नै भएको अनुभूति भएको थियो। यसै सन्दर्भमा पत्रमार्फत् सम्बोधन गर्ने प्रयत्न गर्दै त्यसका लागि तपाईंको केही समय लिन अनुमति चाहन्छु। सर्वप्रथम तपाईंले शुरु गर्नुभएको ‘कुरा सुन्नु पाकाको’ कार्यक्रमका लागि बधाई ज्ञापन गर्दै सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस्ता कार्यक्रमले हाम्रा पूज्य बुबाआमा, हजुरबुबाहजुरआमाजस्ता अघिल्ला पुस्ताका महत्त्वपूर्ण सूचना र अनुभवहरू हामी र हाम्रा सन्ततिका लागि प्रेरणादायी बौद्धिक खुराक हुनेछन्। यो आफैंमा अघिल्लो पुस्ताको सम्मान हो भने पछिल्लो पुस्ताको लागि मागदर्शन पनि हो भन्ने मैले मानेको छु।

यहाँले सन्चालन गर्नुभएको कार्यक्रमबाट हाम्रो जीवनको गहिराइ र उचाइमा पुग्न अवश्य सहयोग हुनेछ। किनभने पाका अनुभवी व्यक्तित्वहरूको ज्ञान र अनुभव हाम्रो जीवनका लागि वास्तवमा नै वरदान र आशीर्वाद हुनेछन्। हाम्रो चिन्तन र कार्यकुशलतामा यस्ता सन्दर्भले अवश्य नै सकारात्मक प्रभाव पार्दछन्।

मानिसको जीवन ज्ञान र अनुभवको महासागर हो। मेरो सानो बुझाइमा यसलाई जान्न हामीले आफ्नै पूर्व जन्मको कर्म लिएर आएका हुन्छौं। त्यही कर्मका आधारमा अर्को जीवनको जग खडा भएको हुन्छ जसले गर्दा हरेक अर्को जुनीमा हामी अँध्यारोबाट उज्यालो र प्रस्तुत उज्यालोबाट दिव्य उज्यालो ज्योतितिर जाने क्रम अगाडि बढ्छ।

यसकै आधारमा आफ्नो कर्मलाई जान्न सक्नु, क्षमतालाई बुझ्न सक्नु जीवनको महत्त्वपूर्ण उपलब्धि हो। जसले यो कुरालाई बुझ्ने कोसिस गरेर जीवनलाई परीक्षण गर्दै उच्च सदुपयाोगका साथ सञ्चालित हुन्छन्, उनीहरू अवश्य आफ्नो कर्मको पहिचान छोड्दै इतिहास बनाएर अर्को पुण्य कर्म प्राप्तिका लागि अन्तर्चेतनाको ढोका खोल्दै अझ सचेत र सक्रिय हुनेछन्। यसै क्रममा आत्माको सुन्दर यात्रा निरन्तर निर्मलतातिर बढिरहने छ।

यहाँले लिनुभएको हाम्री पूज्य मुमाको अन्तरवार्तामा जानकारीका लागि सोध्नुभएको एउटा प्रश्नको उत्तर, जसमा उहाँ पूर्ण विस्मृत हुनुभयो, म त्यसलाई मात्र पूरा गर्ने प्रयत्न गर्दैछु। यहाँलाई मुमाले छोराभन्दा प्रिय भनेर ग्रहण गरिरहँदा तपाईंले आफूलाई नाति सरहको भन्न रुचाउनुभयो।

तथापि तपाईं र म दाइ, भाइ नै हौं किनभने तपाईंकी आमा मेरी पनि पूज्य आमा नै हुनुहुन्छ। मेरो जीवनको यात्राका क्रममा भेट हुने प्रत्येक मानव मनबाट म केही सिक्ने कोसिस गर्छु। त्यो पलको लागि ऊ मेरो गुरु हुन्छ।

तपाईंका कार्यक्रमहरूबाट मैले धेरै ज्ञान लिएको छु। यस अर्थमा तपाईं मेरो गुरु पनि हुनुभयो र यो मेरो जीवन यात्रामा भेटिने सबै मानवलाई म गुरुमित्रका रूपमा सम्मानपूर्वक ग्रहण गर्दछु। शास्त्रअनुसार सोह्र वर्षभन्दा माथि पुगेपछि जो कोही पनि मित्रबराबर हुने भएकाले तपाईं मेरो मित्र पनि हुनुभयो।

आफ्नो दाइ भाइ, मित्र मात्र होइन सबैसित सधैं सत्य बोल्नुपर्छ र अरूलाई परेका बखत जस्तो पनि सहयोग गर्नुपर्छ भन्ने ज्ञानलई हामी सबैले आत्मसात गर्नुपर्छ भन्ने कुरा गुरु, तथा मान्यजनहरूबाट सुन्दै आएका छौं, जुन जीवनको पाँच दशक कटेको यो समयमा आएर व्यक्तिगत रूपमा म स्वयंले अझ व्यावहारिक रूपमा स्वीकार गरिरहेको छु।

तपाईंले पूज्य मुमालाई सोध्नु भएका प्रश्नमध्ये ‘तपाईंका अहिले छोरानाति कोको छन्? कहाँकहाँ पुगेका छन्, कस्तो काम गर्दै छन्? सबैका बारेमा भन्दिनु न, सम्झे जति?’ मार्फत परिवारको बारेमा जानकारी लिन उत्सुकता जनाउनुभयो तर यो प्रश्नको पूरा उत्तर दिन पूज्य मुमालाई गारो भयो। उहाँको उमेरसँगै आएको विस्मृतिका कारण यसो हुन गएको कुराको सामान्य आकलन सहजै गर्न सकिन्छ। उहाँको सबैभन्दा कान्छो छोरा भएर पनि म स्वयं यस प्रश्नको पूरा उत्तर दिन असमर्थ रहेको महसुस गर्छु र उत्तर खोज्ने प्रयास गर्छु।

चौरानब्बे वर्षकी मेरी पूज्य मुमालेजस्तै म पनि सबैलाई चिन्दिनँ र भौतिक रूपमा भन्नुपर्दा जीवनका विविध कर्म र कर्मक्षेत्रका कारण हामी एकअर्कासित अलग भएको बर्सौं भइसक्यो। हाम्रा नातेदार, आफन्तमा कति नयाँ सन्तति जन्मिसकेका छन्, त्यसबारे म आफैँ पनि सूचना लिन सक्ने अवस्थामा छैन।

चिन्तन तहमा गएर भन्नुपर्दा मैले आफैँलाई चिन्नसकेको छैन र आफैँलाई चिन्नमा व्यस्त रहेको हुनाले परिवारका अन्य आदरणीय सदस्यहरूको बारेमा जानकारी लिन पर्याप्त समय पाइरहेको छैन। अहिले यही कौतुकका कारण म स्वयं मुमाको व्यापक परिवार कति ठूलो छ, त्यसको जानकारी लिन प्रयत्न गरिरहेको छु।

अहिले चलेको पारिवारिक परिभाषामा भन्नु पर्दा म मनमाया मैनाली सिटौलाको कोखबाट जन्मिएको र ठूलीआमा( पूज्य पिताजी हरिचरण सिटौलाकी जेठी श्रीमती)  लक्ष्मीदेवी पाठक सिटौलासमेतका एकै बाबुका एघार जना छोराछोरीमा सबैभन्दा कान्छो हुँ र हामी सबैको बाल्यकाल र अहिलेको समय पनि अत्यन्त प्रेममय रूपमा बितिरहेको थियो र छ।

यी सबैबाट फैलिएका परिवारहरूको पहिलो घेरा चौरासी जनाको छ। यसबाहेक मैले यहाँलाई जानकारी गराउनुपर्छ कि मेरो जीवनकालमा घरायसी किसिमले मैले छजना आमाहरूसित सम्पर्क गर्न पाएको छु। तिनमा व्यावहारिक सम्भावनामा चार आमाहरूसँग मात्र बढी सम्पर्कमा रहन पाए पनि मेरा सात आमाहरू हुनुहुन्छ र मेरो काइँलो दाइ देवेन्द्र सिटौला बाल्यकाफमा नै बितिसक्नुभएको हो।

अनि केही पहिले हाम्री एक भतिजी लीलादेवी पनि बितेकी हुन्। हाम्रा बुबाका चार दाजुभाइमा अहिले कोही पनि जीवित हुनुहुन्न। आठ जना फूपुहरूमा कान्छी फूपु कमला ओली झापा जिल्ला बिर्तामोडमा नब्बे वर्षको उमेरमा पनि सक्रिय जीवन बिताइरहनुभएको छ।

पिताजीका दुई श्रीमती अर्थात् हाम्रा दुईजना आमामध्ये पिताजी र मेरी ठूली आमा लक्ष्मीदेवी सिटौला अहिले अनन्तमा आकाशमा पुण्यात्माका रूपमा विचरण गरिरहनुभएको होला अथवा उक्त आत्माले अर्को जन्मको भोग प्रारम्भ गरेहोला।

मेरी ममतामयी कान्छी काकी देउमाया सिटौला अहिले झापाको चारपानेमा सय वर्षको उमेरमा रमाइरहनुभएको छ। उहाँले पुराना यादहरू सबै ताजै राख्नुभएको छ। अर्की सातौँ आमा मेरी मुमाकी बहिनी अथवा हाम्री सानिमा हाम्री गुरुआमा माता जननी हरिकला चुडाल गर्ग काठमाडौँको बानेश्वरमा हुनुहुन्छ। वहाँ हामी सबैकी ज्ञानमाता हुनुहुन्छ। उहाँलाई दिव्यज्ञान प्राप्त भएको छ।

जीवनयात्राका क्रममा मैले अर्की आमा रमला अधिकारी पराजुली र उहाँको परिवारलाई भेटेर उहाँहरूको अनौठौ प्रेम र सद्भावनाको अनुभूति गर्ने सौभाग्य प्राप्त गरिरहेको छु। उँहा मेरी जीवनसाथीको माता हुनुहुन्छ।

हाम्रा आमाहरूको परिवार मात्र बुझ्नलाई विशेष गरी ताप्लेजुङ, तेह्रथुम, झापा नुवाकोट, मकवानपुर आदि जिल्लाहरू र काठमाडौं महानगरपालिका, वीरगञ्ज महानगरपालिकालगायत नेपालका अन्य धेरै स्थानका साथै भारतको असम र नेपाली डायस्पोरामा भएका विपुल आफन्त उहाँहरूका परिवार हुन् भन्ने कुरा बुझ्नुपर्ने हुन्छ।

यसबाहेक भावनात्मक रूपमा भन्नुपर्दा विश्वमा रहेका सारा नेपाली र प्रत्यक्षपरोक्ष रूपमा सम्बन्धित भएका अन्य भाषाभाषीहरू अथवा सम्पूर्ण मानवजाति नै आमाका सन्तान हुन्। भनौं भने यो सारा सृष्टि चराचर नै मातृतत्त्वको सन्तान होइन त? यो व्यापकता अन्य सबै मातापितामा पनि लागू हुन्छ।

यात्रीज्यू, वास्तवमा धर्ती माताको परिवार कति ठूलो छ, कस्तो छ त्यो कुरा बुझ्न हामीले सृष्टिको परिवेशमा जानु आवश्यक हुन्छ भन्ने म ठान्दछु। यस्ती महान् नेपाल आमा धर्तीमाता र यस्ता ममतामयी मानवी आमाहरूका सन्तानहरू किन कोही यसरी निर्दयी अथवा गुणवान्, दु:खी र सुखी अनि कोही साधारण र फेरि कोही चाहिँविलक्षण प्रतिभाका असाधारण व्यक्तित्व भए? यही कुरा बुझ्न म उत्सुक छु र ज्यादै जिज्ञासु छु। म यसैको वास्तविक र आत्मिक खोजीमा भौँतारिरहेको छु।

प्रिय यात्रीज्यू, म तपाईंले पूज्य मूमालाई राख्नु भएको प्रश्न ‘अहिले छोरा कस्तो काम गर्दै छन् ?’ कै उत्तर समेट्ने प्रयासमा छु। म के गर्दै छु भन्ने सन्दर्भमा केही तथ्य समेट्न खोजिरहेको छु।

हामी नेपाली जातिहरू मिलेमा हामीले व्यापक रूपमा नयाँनयाँ सिर्जना र आर्थिक समृद्धि गर्न सकिन्छ भन्ने विश्वास लिएर त्यसैको अभियनमा अग्रसर भइरहेको छु। साथसाथै अर्कातिर आफू शान्त ध्यानमा बसेर आफैलाई चिन्ने चेष्टा गर्दैछु।

म प्रेमका बारेमा मेरा केही धारणा राख्न चाहन्छु, पृथ्वीमा म आएको यसलाई चिन्ने र बुझ्ने अनि फैलाउने मेरो कर्म हो भन्ने मलाई अवगत भएको छ। मेरो बुझाइमा यो संसार जुन रूपमा अगाडि बढ्दै गइरहेको छ, अबका दिनमा प्रेम,ध्यान र ज्ञानको शक्तिले मात्र विश्व समृद्धशाली र सुखमय बन्न सक्छ। मेरो साधनाकै क्रममा अहिले मलाई यही मेरो कर्म हो भन्ने कुरा प्रस्ट हुँदै आएको छ।

मेरो बुझाइमा हामी प्रत्येक मानव स्वयंमा प्रेम हौं तर हामीले यो ज्ञान बिर्सिएका छौं। त्यसैले हामी सृष्टितत्त्वको सत्यलाई गहन रूपमा मनमा सम्झेर के विश्वास गरौं भने जहाँजहाँ हामी जान्छौं त्यहीँ त्यहीँ प्रेमका बिम्बहरूले वातावरण प्रेममय र सुन्दर बनाउन सक्छौं।

प्रेम आफूभित्र हुन्छ, शाश्वत प्रेम निसर्त हुन्छ। यो अरूले आफूलाई दिएपछि मात्र प्रत्युत्तरमा दिइने कुरा होइन। निरपेक्ष रुपमा आफूबाट प्रवाह भइरहने प्रेमले कसैलाई सहयोग पुर्‍याउन सक्छ, कसैलाई करुणामय रूप दिन सक्छ, कसैलाई उत्साह भरिदिने माध्यम बनिदिन सक्छ।

आफूबाट प्रवाहित भएको यो नि:सर्त प्रेम अरूमा प्रक्षेपण हुँदा एकै रूपमा प्रक्षेपित हुन्छ भन्ने छैन। प्रेम बुझ्न अरूको पीडा, समस्या र करुणालाई अनुभूति गरेर त्यो व्यक्ति वा परिस्थितिमा आफूलाई रूपान्तरण अथवा समानुभूत गरेर त्यो व्यक्ति वा परिस्थितिलाई सच्चा र निस्वार्थ ढंगले सहयोग गर्नु नै प्रेम दिनु हो र त्यही मुहूर्तमा नै सच्चा प्रेमको उत्पत्ति र कार्यान्वयन हुन्छ भन्ने कुराको मलाई गहिरो विश्वास र ज्ञान भएको छ।

यात्रीज्यू, म एक साधारण जिज्ञासु कवि हुँ र कविताबाट आफ्ना भावना व्यक्त गर्ने कोसिस गरिरहेको छु। म नेपालजस्तो राष्ट्रको जिउँदो शहीदमध्ये एक हुन पाएकोमा गौरवान्ति महसुस गरेको छु र यसलाई अहोभाग्य प्राप्त गरेको ठानेको छु। जीवन जिउनका लागि मात्र होइन उत्कृष्ट सेवा दिन र विशिष्ट कर्म गर्न हो। यतिमात्र नभई परिवर्तनका लागि बलिदान दिन तयार हुनुपर्छ भन्ने मेरो विश्वास छ।

प्रिय यात्रीज्यू,

विज्ञान र प्रविधिका माध्यमबाट हामी जतिजति द्रूत गतिमा विश्व मानव जगतमा, उन्नति र प्रगति गर्दै आर्थिक र अन्य समृद्धिको चमत्कार देखाइरहेका छौँ त्यति नै अर्को पक्षबाट लोभी र पापी हुँदै मानवतामाथि निर्दयी हुँदैछौं। मानवतालाई मार्दैछौँ अनि आपसी भाइचाराबाट टाढिँदैछौं। यसको मूल कारण, हामी अध्यात्ममा धनी र दानी भएर पनि झन्झन गरीब बन्दै गइरहेकाछौं भन्ने महसुस भएको छ।

मानवताभित्र दानवता थाहा नै नपाई छिरेको छ। त्यसलाई प्रेम, ध्यान र ज्ञानका बलले मात्र हटाउन सकिन्छ भन्ने विश्वास ममा प्राप्त भएको छ। जब मानवआत्मा परमात्मासँग मिल्न थाल्दछ तब दिव्य ज्ञान र शक्ति प्राप्त हुन थाल्दछ। जब मान्छे भगवानको चेतनामा पुग्दछ र त्यस्तै सोच राख्दै आफ्नो सामर्थ्य स्मरण गर्दै कर्मज्ञान पहिचान गर्छ।

त्यसैले मेरा आमा र गुरुहरूबाट प्राप्त ज्ञान र सन्देशका माध्यमले अन्तरआत्माबाट प्रेमलाई ब्युँझाउन, ज्ञानमा गएर अध्यात्म जगाउन र अझ एकताबद्ध हुने सन्देश विश्व मानव जगतमा पुर्‍याउन, प्रेमको एक जिज्ञासु विद्यार्थी हुँदै नवयुगको परिवर्तनलाई तीब्रता दिन एक सहयोगीका रूपमा कार्य गर्न मलाई आज्ञा भएको छ भन्ने पूर्ण विश्वास जागेको छ।

यसका लागि मैले मेरी प्रेमिका एवम् जीवनसाथी रञ्जिता पराजुली सिटौला, तेह्र वर्षकी मेरी प्रिय छोरी कृपा सिटौलाको पूर्ण साथ र सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण विश्वास राखेको छु, साथै मेरो अभियानमा सम्पूर्ण आमाहरूका परिवारहरूको पूर्ण साथ र सहभागिता हुनेछ भन्ने कुरामा पूर्ण विश्वास राखेको छु।

कुनै रगतको नाता, थर, जात, वर्ग, रंग, आस्था अनि भौगोलिक सीमा र रेखाभित्र मात्र परिवार सीमित हुँदैन भन्ने मेरो बुझाइ छ। यसको गहिराइ र व्यापकता बुझ्न, यसको परिभाषालाई फैलाउन र हाम्रो परिवारका नयाँ सदस्यहरूबाट सिक्न, भावना, शुभकामना, खुसी, हाँसो, ज्ञान र अनुभव आदि कुराहरू आदानप्रदान गर्न प्रेमबाट सुख शान्ति, समृद्धि, आत्मीयता र परिवर्तनको सन्देश बोकेर, सोही मर्म र धर्मलाई आत्मसात् गरेर गाडीबाट विश्व भ्रमण गर्ने तयारी गरेको छु।

मैले यसको जानकारी मलाई जन्मदिने माता मनमाया सिटौलाको चौरानब्बेऔं शुभ जन्मोत्सवको पावन अवसरको पवित्र दिन २०८० साल मङ्सिर ३ गते तदनुसार नोभेम्बर १९ मा अमेरिकाको भर्जिनियामा देवकोटा जयन्ती मनाउँदै गरेको पवित्र दिन पारेर बन्दै गरेको नेपाली अमेरिकन सामुदायिक भवनको प्राङ्गणमा नेपाल प्रज्ञा प्रतिष्ठानका आदरणीय कुलपति भुपाल राईज्यू तथा अन्य पदाधिकारीज्यूहरु, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्कर्मा, केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा एवं आदरणीय पदाधिकारीज्यूहरू, न्याक का अध्यक्ष डा. मदन उप्रेती, उप सभापति विना खड्का लामा तथा पदाधिकारीज्यूहरु, मेरा आदरणीय प्रिय मित्रहरू, मेरा आदरणीय जेठा दाजु विशिष्ट साहित्यकार प्रा.मोहन सिटौला लगायत अन्य विशिष्ट समाजसेवीहरुको समुपस्थितिमा मेरो यात्राको जानकारी सार्वजनिक गर्ने अनुपम सुअवसर प्राप्त भएको हो।

यसरी नै मेरो यात्राको शुभारम्भ वरिष्ठ साहित्यकार कृष्ण धरावासी, मञ्जु विमली र अमेरिकाको भर्जिनियाका समाजसेवी दम्पती गोविन्द र मन्दिरा मैनालीको पवित्र निवासमा उहाँहरूको परिवार र नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं कविता विभाग प्रमुख बाबा वस्नेत र परिवारको समुपस्थितिमा कविता वाचन र मेरो यात्रा भिडियो देखाएर मलाई कर्म दिने माता जननी हरिकला गर्गले दिव्य ज्ञान प्राप्त गरेको अलौकिक दिन मङ्सिर २६ गते तदनुसार डिसेम्बर १२ मा विश्व यात्राको शुभारम्भ गरेको छु।

अहिले भन्दा ३२ वर्ष अघि सन १९९१ मा नेपालबाट अमेरिका यात्रामा मेरो पहिलो मित्र आदरणीय साथी जनक केसीलाई अमेरिका उत्रिएको दिन डिसेम्बर २६, २०२३ मा आर्लिङ्गटनमा भेटेर यात्राको आशीर्वाद र शुभकामना पनि प्राप्त गरेँ । हामी संयोगले भर्जिनियामा आर्लिङ्गटनको एउटा एपार्टमेन्टमा आाएका थियौं।

त्यस्तै म अमेरिका आएको भोलिपल्ट नै उहाँको छोरीको विवाहमा निमन्त्रणा गर्नुहुने र कविता लेख्न सोही दिन प्रेरणा दिनु हुने अनेसासका पिता आदरणीय होमनाथ सुवेदीज्यूबाट अमेरिका आएको ३२ वर्ष पूरा गरेको दिन मा गएर आशीर्वाद लिएँ।

प्रिय यात्रीज्यू, मेरी आमालाई सोध्नुभएको जुन प्रश्न थियो, त्यसको अपूरो उत्तर अपूरो नै रहेको छ। मैले आफ्ना बारेमा मात्र थोरै भन्न सकेँ।

यात्रीज्यू,

यस्तो किसिमको यात्रा हामी नेपाली जातिको पहिलो यात्रा भएको हुँदा यसलाई साहस र सपनाको यात्रा, सृजना र समृद्धिको यात्रा, एकता र भाइचाराको यात्रा, प्रेम र खुशीको यात्रा, नयाँ पहिचान र इतिहासको यात्रा संझिंदै यसलाई नयाँ जीवन र चेतनाको खोजीको रूपमा पनि लिएको छु र सबैलाई यसरी नै लिइदिनु हुन तपाईंमार्फत हार्दिक अनुरोध गर्दै, सफलताको लागि सहभागिता जनाई साथ सहयोग दिनुहुन पनि जोडदार अनुरोध गर्दछु।

साथसाथै नेपाल सरकार, गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र अन्य सबैसंस्थाहरु लगायत विदेशमा रहने सबै महानुभावहरूलाई साथसहयोगको लागि यही पत्रमार्फत जानकारी गराउँदै अनुरोध पनि गर्दछु।

मलाई नजिकमा बसेर माया गर्ने सबै महानुभावहरू र मलाई हिम्मत दिने डेलीगेट माननीय ह्यारी भण्डारी, कविहरू सुदीपभद्र खनाल, ऋषभदेव घिमिरे, नीलकण्ठ सुवेदी, जगन्नाथ पौडेल, शिव लामिछाने, प्रकाश नेपाल र प्रिय भाइ मनीष पोख्रेललगायत अन्य प्रेरणादायी सुपात्रहरूमा यही पत्रमार्फत हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मलाई आशीर्वाद र असीम ऊर्जा प्रदान गर्नुहुने श्रद्धेय गुरुद्वय एलपी भानु शर्मा र रमेश नेपालप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।

तपाईंलगायत सबैको प्रेमपूर्ण एवं एकताबद्ध साथ, सहयोग र सहभागिता एवम् आशीर्वादका लागि यही पत्रमार्फत् सबैलाई विनम्र अनुरोध गर्दछु। यो युग रूपान्तरणको समयमा साझा उद्देश्यलाई अभियानका साथ व्यापक रूपमा सबैमा पुर्याइदिनुहुन सविनय निवेदन गर्दछु।

अन्तमा, मेरो कवितासङ्ग्रह ‘हृदयका स्पन्दनहरू’ मा समेटिएको ‘प्रेम’ कविताका केही हरफ यहाँसम्म
बाँड्न अनुमति माग्दछु। यो लामो पत्र पढ्न तपाईँले दिनुभएको अमूल्य समयका लागि पुनः हार्दिक धन्यवाद!

सफलताको लागि हार्दिक शुभकामना ।

प्रेम:
प्रेमको कुनै रूप हुँदैन
प्रेमको कुनै रंग हुँदैन
प्रेमको कुनै बास्ना हुँदैन
प्रेमको कुनै आकार हुँदैन
प्रेमको कुनै सीमा हुँदैन

सृष्टि हो प्रेम
शक्ति र आशीर्वाद हो प्रेम
गीत र संगीत हो प्रेम
वर्तमान र भविष्य हो प्रेम
हर खुसीको अदृश्य जादु हो प्रेम !

अब, आफैँलाई र जीवनलाई प्रेम गरौं,
परिवार परिवारलाई प्रेम गरौं
आाफ्नो जन्मभूमि र जनतालाई प्रेम गरौं,
आाफ्नो कर्मभूमि र कर्मलाई प्रेम गरौं,
सबै आस्था र मानवतालाई प्रेम गरौं,

प्रकृति र विश्व ब्रह्माण्डलाई प्रेम गरौं,
प्रेमभित्रको प्रेमलाई प्रेम गरौं!

ॐ सर्वे भवन्तु सुखिनः
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद्दुःखभाग्भवेत् ।
ॐ शान्तिः
ॐशान्तिः
ॐ शान्तिः !

उज्यालो युगका सन्तानहरूलाई पत्र

विक्रम सम्बत् २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्वत् २०२४ नोभेम्बर १८ ।

आजभन्दा विक्रम सम्बत् ११८ वर्षपछाडि चैत्र ३१ पछि जन्मनुहुने विश्वका हरेक कुनामा रहने सबै सबै नेपाली मूलका नेपाली भाषीलाई सम्बोधन गर्दै, सम्झँदै म यो विशेष पत्रमार्फत् विशेष सन्देश अभिलेख गर्दैछु ।
त्यो समयसम्म विज्ञानले कुनै चमत्कार नगरे सम्भवतः आजकाे दिनसम्म पृथ्वीलोकमा जन्मेका हामी सबै मानव यस शरीरमा जीवित रहनेछैनाैँ ।

हाम्रा प्रिय सन्तानहरू,
म तपाईंहरूको करोडौँ गौरवशाली पुर्खाहरूमध्ये एक हुँ भन्न पाउँदा गौरवान्वित छु। त्यसमाथि पनि हाम्रो पवित्र पुण्यभूमि नेपालमा जन्मेको हुँ भन्न पाउँदा यस जुनीकाे मेरो मानव जीवन सार्थक भएको छ ।
तपाईंहरूका लागि म एउटा युग परिवर्तनको याे कथा लिएर उपस्थित भएको छु। यो कथा यो इतिहास हाम्रो कालखण्डमा एउटै मात्रै रहनेछ। यो कथा एउटा नारीको, एउटा सृष्टिको, एउटा पम्फाको फूलको अनि प्रेमको उत्पत्तिको हो । यो कथा एक नारीले बिताएको युगको हो, यो कथा एउटी आमाको हराएको सन्तानको हाे । यो एउटी आमाले आफ्नो सन्तानप्रति गर्ने ममताको कथा हो, यो कथा आउनेवाला युगको हो ।

आज विक्रम सम्वत २०८१ मङ्सिर ३ साल तदनुसार इस्वी सम्बत् २०२४ नोभेम्बर १८, मनमाया सिटौला अत्यन्तै प्रसन्न छिन् । आजभन्दा ९४ वर्षअगाडि उनी नेपाल अधिराज्यको ताप्लेजुङ जिल्लाको हाङपाङ गाउँमा यो शरीर लिएर मानव चाेलामा अवतरण भएकी हुन् ।

आज उनको बिहानी उनको गीतसँगै उनको कान्छो छोराको नृत्यबाट सुरु भयो Facebook messenger भिडियो कलमा । पहेँलो गालामा चुक्क भन्दै उनले गीतअघि र गीतपछि संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डी सी मा रहेकाे उनको छोरालाई नेपाल अधिराज्यको राजधानी काठमाडौँबाट चुम्बन गरिन्। उनकी नातिनी कृपासँग खुशीले गद्गद् हुँदै दालभात तरकारी मज्जाले खानु है, दरो बन्नु, सबैलाई माया गर्नु, राम्रो पढ्नु अनि फोन गर्दै गर्नु है भनेर गालामा चुक्क भन्दै बिदा भइन् ।

आज उनी धेरै कुरा सम्झिन्नन् तर फोनमा कुरा गर्नेबित्तिकै वा भिडियोमा आउनेबित्तिकै सबैलाई गालामा चुक्क गर्न आतुर हुन्छिन् अनि दिलैबाट प्रकृति, हावा र आकाशले सुन्ने गरी हाँसिरहन्छिन् हाँसिरहन्छिन् । प्रेमको प्रवाह छोडिरहन्छिन् छोडिरहन्छिन् । आज उनले अतीतका धेरै घटना नसम्झे पनि उनका सबै कथा, उनले बिताएकाे सिङ्गो युगको कथा “मैले बिताएको युग” हामीलाई सम्झनास्वरुप उपहार दिएकी छन् । यस अर्थमा उनका स‌ंस्मरणहरू अब हामी र हाम्रा भविष्यका सन्तानहरूसँग सुरक्षित छन् ।

उनले आफूले गर्भमा सुरक्षित र प्रेमपूर्वक सम्हालेर राखी जन्म दिएर १४ वर्ष लामाे बात्सल्यप्रेमले नुहाएर हुर्काएकाे अतीनै पृय सन्तान गुमाएपछि उनकै प्रार्थना, आराधना, पुकार, इच्छानुरुप उनकै कोखबाट जन्मिएको एक अर्को जिज्ञासु बालक हुँ म ।

प्रिय ज्ञानी सन्तानहरू,
तपाईँहरूलाई हामी एउटा विशेष ज्ञान, सन्देश, प्रेम र उपहार केही कर्म छोडेर तपाईँहरूमाथि पूरा भरोसासहित जाँदैछौँ । तपाईँहरू मानव सृष्टिको पहिलो भाग्यमानी जाति बन्दै हुनुहुन्छ । तपाईँहरूका पुर्खाले समयको यो अत्यन्तै संवेदनशील क्षणमा गरेकाे आह्वानलाई कर्म सम्झेर धर्म गर्नुहुनेछ भन्ने हामी पूर्ण विश्वास राख्दैछौंँ । हाम्रो यस आह्वानले तपाईंका सन्तान जो हामी सबैका सन्तान हुनेछन्, उनीहरू संसारकै सबैभन्दा शान्त, खुशी, चेतनशील, समृद्धशाली, शक्तिशाली, ज्ञानी, ध्यानी र उत्कृष्ट जातिका रूपमा स्थापित हुनेछन् । यो तपाईं हाम्रो निरन्तर एक शताब्दीको योग, ध्यान र प्रकृतिको बलले मात्रै सम्भव हुनेछ ।

हे पराक्रमी सन्ततिहरू,
तपाईँहरूका पुर्खाका रूपमा हामी यतिखेर अत्यन्तै तीब्र परिवर्तनकारी युगमा छौँ, समयको अर्कै कालखण्डमा छौँ । हामी बाँचिरहेकाे याे युग जसलाई हामी कलियुग, अँध्यारो युग भनिरहेका छाैँ, हामी सबै मिलेर यस युगलाई अर्को उज्यालो र चेतनाको युगमा रूपान्तरण गर्ने अभियानमा जुटेका छाैँ । हामीभन्दा युगाैँअघिका हाम्रा माताहरू, देवीहरू, ऋषिमुनिहरू, सन्तमहात्मा र गुरुहरूले निरन्तर चलाइरहेको अभियानमा समाहित हुन तपाईँहरूका सबैसबै आदरणीय पुर्खाहरूलाई आह्वान गरिरहेका छाैँ ।
हामी कतिले आफ्नै अन्तरशक्तिलाई बिउँझाएर यो युगभन्दा अगाडि आइसकेको छौँ । कतिकाे अन्तरचेतनालाई यस भाैतिक युगको बादलले ढाकिदिरहेको छ। हामी सबै मिलेर यो बादल हटाइदिएर हामीले कल्पना गरेकाे नयाँ युग जसलाई चेतनाको युग, परिवर्तनको युग, प्रेमको युग, उज्यालो युग, संगम युग, सत्ययुग सबैले आफ्नो आफ्नो तरिकाले सम्बोधन गरिरहनुभएको छ, सँगसँगै बाँच्ने योजनाका साझा अभियानमा जुटेका छाैँ । हामी यसमा कत्ति पनि चिन्तित छैनौँ तर पूर्ण-परिवर्तनको अपेक्षा गर्नु एक विशाल चुनौती हो र पनि यसका लागि साहस, संयम, एकबद्धता, योग, ध्यान, ज्ञान र आध्यात्मिक शक्तिको जागरणको संयोजनबाट विश्वासको जगलाईलाई जन्माउनु अत्यन्तै जरुरी छ ।

हे हाम्रा विवेकी सन्ततिहरू,
जसरी घनाघोर औँशीको रातपछि क्रमशः सुन्दर पूर्णिमाको रात आउँछ, जसरी उकालो हिँड्दैहिँड्दै गइसकेपछि सबैतिर एकैपटकमा हेरेर धित मार्न पाइने मनमोहक उचाइ अवश्य आउँछ, त्यसै गरी दुःख, मेहनत र परिश्रमपछि सुख अनि सफलता र खुसीको फल अवश्य आउँछ । हामी लामो दुःख, बलिदानकाे अनुभव लिएर अनि अपराध, हिंसा, युद्ध, आतङ्क, घृणा, गाली, परित्याग, ईर्ष्या, लोभ, अज्ञानता, भय, नैराश्यता, त्रास सबैलाई चिर्दै उज्यालो युगमा प्रवेश गरिसकेका छौँ । प्रेमको न्यानो स्पर्शले हामीलाई छोइसकेको छ। हामीले आफ्नाे अन्तर हृदयबाट केवल हाम्रो तेस्रो ज्ञान नेत्रले अनुभूति गर्नु छ, हेर्नु छ, मात्र देख्नुछ अन्तर्दृष्टिबाट।

हे गौरवशाली सन्तानहरू,
कलियुगलाई रूपान्तरण गर्न मेरा पुर्खाहरूले साहस, योगदान, समर्पण, बलिदान गरेका थिए भनेर ऐना अगाडि गएर आफैँले आफैँलाई सलाम गर्नु, विश्वमा यिनै साहसी, वीर, अति-पराक्रमी जातिहरू थिए जसले युगलाई नै परिवर्तन गरे भनेर आफ्नै दुईटा हात जोडसँग मिलाउनु, प्रेम, योग, ध्यान, ज्ञान, अन्तरचेतना र आध्यात्मको बलले युगलाई नै परिवर्तन गरेका तिनै तिनै जातिको ज्ञानी सन्तान म हुँ भनेर आफैँलाई पिठ्युँमा ढ्याप मार्नु । “मेरा पुर्खाजस्तै म पनि छु” भन्दै अनि “मेरो जीवनमा आइपर्ने जस्तो पनि परिस्थितिलाई ग्रहण गर्दै मेरो अन्तरशक्तिबाट यसलाई समाधान गर्न सक्छु” भन्ने हिम्मत राख्दै “म धैर्य र अति-सहनशील छु” भन्ने पूर्ण विश्वास गर्दै अनि “हर परिस्थितिलाई सहजताका साथ समाधान गर्नु, मेरा साहसी, पराक्रमी, दूरदर्शी, प्रेमी, ध्यानी, योगी, आध्यात्मिक, विवेकी, एवं चेतनशील पुर्खाहरूले स्थापना गरेको यो ‘महामानव युग’लाई हामी सदा संरक्षण गर्नेछौँ” भनेर कटिबद्धताका साथ मानवीय र प्रकृतिको कानुनलाई सदा पालना गर्नु ।

मेरी माताश्री जन्मिनुभएको आजकै शुभ दिनमा आजभन्दा ३६५ दिन अगाडि मैले “विश्वप्रेम यात्रा”को ‘मानव एक परिवार’ भन्दै प्रारम्भिक योजना सार्वजनिक गरेको थिएँ । आजैबाट उक्त यात्रालाई निरन्तरताका साथ अगाडि बढाउँदै छु । म यस यात्राका क्रममा संसारभरिका प्रेमी मानवजनबाट प्रेमसम्बन्धी १० लाखवटा कविता लेखाएर त्यसकाे ज्ञान बटुल्दै विश्वको सबैभन्दा ठूलो पुस्तक निकाल्ने अभियानमा अगाडि बढेकाे छु । विश्व मानव समुदायलाई एउटा शान्त र प्रेमकाे महान् नवयुग दिने गरी परिवर्तनको अभियानका लागि मैले मेरो अबकाे जीवन पूर्ण रूपमा हर्षका साथ सहभागी भएर पूर्ण समर्पण गर्ने संकल्प र निर्णय गरिसकेकाे छु । याे सबै तपाईँ सन्ततिहरूले गाैरव गर्ने एक कालखण्डकाे पुर्खाकाे प्रतिनिधित्व गर्न सकूँ भन्ने अभिलाषाले भएकाे हाे ।

यो महापरिवर्तन र युग रूपान्तरणसम्बन्धी योजनाको विस्तृत जानकारी अगाडि निरन्तर उपलब्ध गराइँदै जानेछ। तपाईंका पुर्खाहरूलाई त्यो समयसम्म धैर्यवान भइदिनुहुन, कुनै प्रतिक्रियाहरू अहिले नै नदिनुहुन, तपाईहरुकै पत्र मार्फत विनम्र अनुरोध पठाउँदैछु। तस्पश्चात् तपाईँहरूका हामी सम्पूर्ण महान पुर्खाहरू एउटै शक्ति बनेर यो महानवयुग परिवर्तनमा सहभागी बन्नेछौं । उहाँहरूलाई यो सन्देश फैलाउन स्वतन्त्रता छ ।

सृष्टिकर्ता, ब्रह्माण्ड, प्रकृति र समयले ले हामीलाई  भविष्यको बारेमा सोच्ने, कल्पना गर्ने, योजना बनाउने क्षमता दिएको छ तर परिणाम जान्ने अधिकार र ज्ञान दिएको छैन ।
अगाडि आउने हरेक सफलताका लागि जानकारी लिन अनि सुझाव दिन र सहभागि बन्नको लागि म तपाईँहरूका सम्पूर्ण आदरणीय पुर्खाहरूलाई आजदेखि मेरो साइटमा VoiceOfKabin.Com मा  मेरो रचना मार्फत अथवा आवाज मार्फत राखी निरन्तर जानकारी गराउँदै जानेछु।

हार्दिक आभार !
तपाईँहरूलाई सदा प्रेम, शक्ति र आशीर्वाद ।
कवीन्द्रराज सिटौला “जिज्ञासु”