नारी सृष्टि र सृजना
नारी
छोरी हुन्, दिदीबहिनी र भान्जी हुन्
उनी मातृशक्ति हुन् आमा हुन्
धेरै धेरै भूमिका र हैसियतकी
एउटै तत्व उनी नारी हुन्
अझ उनी
नारी स्वरूपा दिव्यतत्व देवी हुृन् ।
नारी प्रेम र सद्भाव हुन्
खुसी र हाँसो हुन्
शक्ति र पूजा हुन् ।
नारी सृष्टि र सृजना हुन्
यसका स्वयं स्रोत हुन् ।
छोरीलाई साथी बनाएर हेर
मायाँ गरेर हेर
खुसी बाँढेर हेर
उत्साह र उमङ्ग दिएर हेर !
तिमी सबथोक पाउने छौ ! सबथोक ।
ए, छोरीलाई
अपहेलना गर्ने समाज !
संवेदित भएर सुन !
छोरी कुनै
भ्रूणमा नै अन्त्य गरिने जीवन होइन
बहिस्कार गरिने पहिचान होइन
हेला गरिने जात होइन
भेदभावको वस्तु होइन
बलात्कृत हुने शरीर होइन
हो बलात्कृत हुने शरीर होइन उ ।
छोरी मनोरञ्जनकी साधन होइन उ
उनको जीवन कसैको खेलौना होइन
बजारमा किनबेच गरिने कुनै बस्तु होइन उ !
नारीको जीवन तडपाई तडपाई मर्न बाध्य गराइने चीज होइन।
नारी कुनै कमजोर तत्व होइन
नारी सृष्टिकर्ता हुन्
मस्तिष्ककी ऊर्जा हुन्
हृदयकी स्पन्दन हुन्
जीवनकी गति र प्रगति हुन् ।
तिमीले
कसैकी छोरीको गर्भबाट जन्म लियौ
दशधारा दुध पिउँदै हुर्कियौ !
ंसम्मान गर प्रत्येक नारीलाई
कोही किन छोरीको अपमान र हेला गर्दै
अति नै बोझ मान्दै
मार्न खोज्दैछन् ?
दासत्वका जन्जिरले बाँध्न खोज्दैछन् ?
तिनको अस्तित्व सिध्याउन खोज्दैछन् ?
अब
विवेकहीन मार्ग त्यागी
सत्मार्ग बाट
हरेक छोरीलाई हिम्मत दिऊँ
सुरक्षित भविष्य दिऊँ
साहस दिऊँ
उनलाई जुझारु बनाऊँ !!!
नारी आदिशक्ति हुन्
हर सृष्टिका अतीत हुन्
सबै सम्भावनाको पृष्ठभूमि हुन्
नारी वर्तमान र भविष्य हुन् ।
नारी हरेक सफलताका सहकर्मी हुन
राष्ट्र हाँक्ने शक्ति हुन्
विश्वका नायिका हुन्
उनी सद्भावले विश्व जित्ने पराक्रम हुन् ।
नारी परिवर्तन हुन्
चमत्कार हुन्
नारी आदर्श
उनी एउटा युग हुन, एउटा युग !!!
त्यसैले
नारीको पहिचान गरौँ
नारीको महिमा बुझौं …. !
हो नारीलाई पहिचान गरौँ उनकोे महिमालाई बुझौं …. !
उनको अतुलनीय
समर्पण र योगदानलाई
स सम्मान गरौं !!!
किनकी नारी सृष्टि र सृजना हुन्
उनी सृष्टि र सृजना हुन्
सृष्टि र सृजना हुन् ।